
सुर्खेत जिल्लाका स्थानीय तहको संस्थागत स्वमूल्याङ्क नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि १० विषयगत क्षेत्रमा तीन स्थितिहरु विभाजन गरी उक्त नतिजा सार्वजनिक गरेको हो ।
समग्र, प्रक्रियागत र परिमाणात्मक स्थिति विभाजन गरी १०० सूचकमा रही स्थानीय तहले अनलाइनमै सूचक अङ्क आवश्यक कागजात र प्रमाण पेश गरी दाबी गर्ने व्यवस्था गरिएको थियो ।
स्वमूल्याङ्कन नतिजा प्रकाशन गर्ने बराहताल गाउँपालिका सुर्खेत जिल्लाको स्थानीय तहहरुमा गाउँपालिका मध्येको पहिलो स्थानीय तह हो । बराहताल गाउँपालिकाको स्वमूल्याङ्कन गर्दा ८२ प्रतिशत नतिजा प्राप्त भएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ८ र वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८.५० प्रतिशतले अङ्क हासिल गरेको छ । वित्तीय एवम् आर्थिक व्यवस्थापन १०.५०, सेवा प्रवाहतर्फ १२.५०, न्यायिक कार्यसम्पादन ६, भौतिक पूर्वाधार ७.५०, सामाजिक समावेशीकरण ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ७.५० र सहकार्य र समन्वय ४.५० प्रतिशत अङ्क प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरुका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाको बीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको थियो ।
मन्त्रालयको कार्यविधिअनुसार शासकीय प्रबन्धतर्फ नौ, सङ्गठन तथा प्रशासनतर्फ आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापन ११, सेवा प्रवाहतर्फ १६, न्यायिक कार्य सम्पादतर्फ सात, भौतिक पूर्वाधारतर्फ सात, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ नौ र सहकार्य र समन्वयतर्फ छ कूल भार निर्धारण गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्