२०८३ साउन १२ , मंगलबार

डोल्पाको जगदुल्लामा लेदोसहितको बाढी पस्दा एक महिलाको मृत्यु, छ जना घाइते



डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा लेदोसहितको बाढी गाउँमा पस्दा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

गएराति निरन्तर वर्षासँगै धुलाखोला तथा आसपासका खोल्सामा आएको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो। बाढीमा परी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

बाढीमा घाइते भएकी विकको स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि झ्याकोट स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिए।

घटनामा सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीया जस विक घाइते भएका छन्। उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर गरिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो।

यस्तै, जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जना प्रहरी, नेपाली सेनाका १० जना र सशस्त्र प्रहरी बलका ११ जना घटनास्थलतर्फ खटिएका छन्।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन, थप उद्धार तथा राहत व्यवस्थापनका लागि प्रशासनले पहल गरिरहेको जानकारी दिइन्।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।