अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख (पूर्वमेयर) देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा व्यक्तिलाई रकम दिँदा हिनामिना गरेको तथा राजस्व रकमसमेत अपचलन गरेको आरोपमा मंगलबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुद्दा दायर हुनेमा पूर्वमेयर तेलीसहित तत्कालीन उपमेयर रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र हाट बजार ठेकेदार वीरेन्द्रकुमार यादव छन्।
अभियोगपत्रमा तत्कालीन मेयर तेली, उपमेयर थापा, प्रमुख प्रशासकीय अधिकृत केसी, राजस्व शाखा प्रमुख सहनी र ठेकेदार यादवसँग जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ बिगो दाबी गरिएको छ।
यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत महतोसँग जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिका–६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालन गर्न अनुमति दिने क्रममा अनियमितता भएको पाइएको हो।







