दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णाली याक्सले ३७ वर्षीय मिलरलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरेको हो।

बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन्। टी–२० क्रिकेटमा आक्रामक ब्याटिङ र ठूला छक्का प्रहार गर्ने क्षमताका कारण उनी अनुभवी फिनिसरका रूपमा परिचित छन्। उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।
मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले ४ हजार ७६२ तथा टी–२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन्। एकदिवसीयमा उनको उच्च स्कोर १४२ रन तथा टी–२० अन्तर्राष्ट्रियमा अविजित १०६ रन हो।
उनले एकदिवसीयमा आठ शतक र २४ अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रियमा दुई शतक र नौ अर्धशतक बनाएका छन्। सबैखाले टी–२० क्रिकेटमा मिलरले ५८४ खेलबाट १२ हजार ४३५ रन बनाएका छन्। यस क्रममा उनले चार शतक र ५३ अर्धशतक प्रहार गरेका छन् भने ५६९ छक्का प्रहार गरेका छन्।
मिलरले सन् २००८ मा १८ वर्षको उमेरमा प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए। सन् २०१० मा वेस्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध लगातार दुई एकदिवसीय खेलमा शतक बनाएका थिए।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा समेत लामो अनुभव बोकेका मिलर सन् २०१३ देखि २०१९ सम्म किङ्स इलेभेन पञ्जाबमा आबद्ध थिए। सन् २०१६ मा उनले टोलीको कप्तानीसमेत गरेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सबाट खेल्दा उनले १६ खेलमा ४८१ रन बनाएका थिए। सोही सिजन गुजरातले पहिलोपटक आईपीएलको उपाधि जितेको थियो।
मिलरले पछिल्लो पटक सन् २०२६ को आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए।







