नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।

क्यानका कोषाध्यक्ष पदम खड्काले आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएलको प्रायोजन, टिकट बिक्रीलगायत विभिन्न स्रोतबाट उक्त रकम बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ। टिकट बिक्री तथा अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गत एनपीएलबाट ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने खड्काले बताए।
फ्रेन्चाइज टोलीका मालिकहरूले पनि क्यानले प्रतियोगिताका लागि गर्ने खर्चकै हाराहारीमा रकम खर्च गर्ने अनुमान गरिएको उनले बताए। यस आधारमा एनपीएलको तेस्रो संस्करण सञ्चालन हुने करिब एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार डेढ अर्ब रुपैयाँसम्म पुग्ने उनको अनुमान छ।
यसैबीच, एनपीएलको तेस्रो संस्करणको पुरस्कार राशि पनि बढाइएको छ। खड्काका अनुसार प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
पहिलो र दोस्रो संस्करणमा पनि व्यक्तिगत तथा टोलीगत पुरस्कारको व्यवस्था गरिएको उल्लेख गर्दै खड्काले यसपटक एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको बताए।
क्यानको नेतृत्वले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल बनाउँदै संस्थाको कार्यकाललाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ।
पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको बताउँदै खड्काले तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे।






