देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट अन्य जिल्लाबाट जारी भएको नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन पाइने भएको छ। गृह मन्त्रालयले कात्तिक ९ गते देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

एआइकाे सहयाेगबाट
गृह मन्त्रालयका सचिव केदार शर्माका अनुसार कानुनी व्यवस्था भएसँगै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको हो। केही जिल्लाले सेवा सुरु गरिसकेका छन् भने बाँकी कार्यालयमा प्राविधिक तयारी भइरहेको उनले जानकारी दिए। केही दिनभित्रै सबै जिल्ला प्रशासन कार्यालयबाट यो सेवा उपलब्ध हुने मन्त्रालयको भनाइ छ।
सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यो व्यवस्था गरिएको हो।
यससँगै नागरिकता आगलागीमा परी नष्ट भएको, पानीले भिजेर काम नलाग्ने भएको, हराएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा प्रतिलिपि लिनकै लागि गृहजिल्ला जानुपर्ने बाध्यता हट्नेछ। यसले सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सरकारी सेवा सहज हुने अपेक्षा गरिएको छ।
नागरिकताको प्रतिलिपि जारी गर्नुअघि सम्बन्धित नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रुजु गरिने मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकका लागि पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सेवा उपलब्ध गराउने व्यवस्था मिलाएका छन्। सार्वजनिक सूचनाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले, ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्नेछन्।







