२०८३ कात्तिक ११ , मंगलबार

कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट



सुर्खेतमा आयोजित ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले तीन जना प्रतिभावान् खेलाडी छनोट गरेको छ। छनोट हुनेमा रुकुमका भुवन भण्डारी, सुर्खेतका कैलाश खड्का र दैलेखका हिक्मत शाही रहेका छन्।

कर्णाली याक्सका कन्सल्टेन्ट कोच राजु बस्नेतका अनुसार छनोट भएका तीनै खेलाडीलाई अब बन्द प्रशिक्षणमा सहभागी गराइनेछ। बन्द प्रशिक्षणमा खेलाडीहरूको क्षमता र प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीलाई कर्णाली याक्सको टिममा समेटिनेछ।

बस्नेतले ट्यालेन्ट हन्टको मुख्य उद्देश्य कर्णालीका प्रतिभावान् खेलाडी पहिचान गरी उनीहरूलाई अवसर प्रदान गर्नु रहेको बताए।

‘ट्यालेन्ट हन्टको मुख्य उद्देश्य कर्णालीका प्रतिभावान् खेलाडी पहिचान गर्नु हो। तीन जना खेलाडी छनोट भएका छन्। अब बन्द प्रशिक्षणमा उनीहरूको क्षमता र प्रदर्शन हेरेर उत्कृष्ट खेलाडीलाई टिममा अवसर दिनेछौँ,’ उनले भने।

कर्णाली याक्सले हरेक सिजन कर्णाली प्रदेशका खेलाडीलाई प्राथमिकता दिँदै आएको जनाएको छ। टिममा कर्णालीकै ५–६ जना खेलाडीलाई अवसर दिँदै आएको र उनीहरूले प्रतियोगितामा समेत राम्रो प्रदर्शन गर्दै आएको याक्सको भनाइ छ।

आगामी दिनमा पनि कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रतिभावान् खेलाडी पहिचान गरी अवसर दिने योजना रहेको कन्सल्टेन्ट कोच बस्नेतले बताए।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।