लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि बंगलादेशका ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ।

बायाँहाते आक्रामक ब्याटिङसँगै दायाँहाते अफ स्पिन बलिङ गर्न सक्ने हुसेनले लायन्सको ब्याटिङ लाइनअपलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
हुसेन सन् २०२० मा बंगलादेशले आईसीसी यू–१९ विश्वकपको उपाधि जित्दा टोलीका सदस्य थिए। युवा क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा स्थान बनाएका उनले सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। डेब्यु शृङ्खलाको तेस्रो खेलमा उनले १५ बलमा अविजित ३१ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए।
उनले सन् २०२३ मा अफगानिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा समेत डेब्यु गरेका थिए।
घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा पनि हुसेनको प्रदर्शन प्रभावशाली छ। बंगलादेश प्रिमियर लिग (बीपीएल) को २०२४–२५ सिजनमा चिट्टागङ किङ्सबाट खेल्दै उनले ३५२ रन बनाएका थिए। करिब १६० को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
आक्रामक ब्याटिङ, छिटो रन बनाउने क्षमता र प्रभावशाली फिल्डिङका कारण हुसेन टी–२० क्रिकेटमा उपयोगी खेलाडीका रूपमा चिनिन्छन्।







