आगामी मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीबाट २३ जना उसु खेलाडी छनोट भएका छन्।

वीरेन्द्रनगरमा बिहीबारदेखि तीन दिनसम्म सञ्चालन भएको प्रदेशस्तरीय उसु छनोट प्रतियोगिता शनिबार सम्पन्न भएको हो। प्रतियोगिताबाट सान्दातर्फ १५ जना र थाउलुतर्फ ८ जना गरी २३ खेलाडी राष्ट्रिय खेलकुदका लागि छनोट भएका हुन्। छनोट हुनेमा १३ पुरुष र १० महिला खेलाडी छन्।
कर्णाली प्रदेश उसु संघका अध्यक्ष गोविन्दबहादुर शाहीका अनुसार छनोट प्रतियोगितामा सुर्खेतले सर्वाधिक १४ स्वर्णपदक जितेको छ। त्यस्तै कालीकोटले ३, जाजरकोटले २ तथा दैलेख, डोल्पा, हुम्ला र जुम्लाले एक–एक स्वर्णपदक जितेका छन्।
प्रतियोगितामा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, हुम्ला र सल्यानका ६५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
अध्यक्ष शाहीका अनुसार छनोट भएका २३ खेलाडीलाई कार्तिक १० गतेदेखि एक महिनासम्म बन्द प्रशिक्षणमा राखिनेछ। उनले राष्ट्रिय खेलकुदमा राम्रो नतिजा ल्याउने लक्ष्यसहित खेलाडीलाई नियमित अभ्यास गराइने बताए।
‘हामीले राष्ट्रिय खेलकुदका लागि २३ जना खेलाडी छनोट गरेका छौं। यी खेलाडीले नै कर्णालीको तर्फबाट उसुमा प्रतिस्पर्धा गर्नेछन्। अब उनीहरूलाई नियमित अभ्यास गराएर राम्रो रिजल्ट निकाल्ने हाम्रो प्रयास हुनेछ,’ शाहीले भने।
उसुको प्रदेशस्तरीय छनोट प्रतियोगिताको समापन गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले छनोट भएका खेलाडीलाई अब पदक जित्ने लक्ष्यसहित अभ्यासमा जुट्न आग्रह गरे। दशैंको बिदामा समेत अभ्यासलाई निरन्तरता दिन आग्रह गर्दै उनले खेलाडीको मेहनत र लगावले राष्ट्रिय खेलकुदमा कर्णालीले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे।
समापन कार्यक्रममा सदस्यसचिव चन्दले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगिता सञ्चालनका लागि २० जना रेफ्री परिचालन गरिएको थियो।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ।






