वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

२८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। मध्यक्रममा ब्याटिङ गर्ने उनले तीव्र गतिमा रन बनाउन सक्ने क्षमता राख्छन्।
रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा ८७३ तथा टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन बनाएका उनले टी–२० अन्तर्राष्ट्रियमा ८४ रनको उच्च स्कोर गरेका छन्।
सबैखाले टी–२० क्रिकेटमा रदरफोर्डले २८३ खेलबाट ५ हजार ९० रन बनाएका छन्। उनले यस क्रममा ३२४ छक्का प्रहार गरेका छन् भने उनको ब्याटिङ स्ट्राइक रेट १४२.०५ रहेको छ।
फ्रेन्चाइज क्रिकेटमा उनले सीपीएल, आईपीएल, पीएसएल, बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२० र मेजर लिग क्रिकेट खेलिसकेका छन्। सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएल उपाधि जित्दा उनी टोलीका सदस्य थिए। यस्तै, २०२०–२१ मा कराँची किङ्सबाट पीएसएल उपाधि जितेका थिए।
आईपीएलमा रदरफोर्डले सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेल खेल्दै २९१ रन बनाएका थिए। यसअघि उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट पनि खेलेका थिए।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतामा थप बल पुग्ने बताए।
रदरफोर्डले पनि सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा उत्साहित रहेको बताएका छन्। उनले एनपीएलमा नेपाली समर्थकका अगाडि खेल्दै टोलीका लागि योगदान गर्न आफू उत्सुक रहेको बताए।







