२०८३ कात्तिक ११ , मंगलबार

कर्णालीमा खाद्य स्वच्छता अनुगमन बढाइँदै, होटलदेखि उद्योगसम्म निगरानी



खाद्य स्वच्छता कायम गर्न उत्पादनदेखि उपभोक्तासम्म खाद्यवस्तुको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

व्यवसायीले आफ्नो पेसागत धर्म र जिम्मेवारी बुझ्दै स्वअनुशासित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आयोजना गरेको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सचेतनामूलक प्रचारप्रसार कार्यक्रममा खाद्यजन्य रोग, दूषित खानाबाट हुने स्वास्थ्य समस्या, खाद्य स्वच्छता र बजार अनुगमनका विषयमा छलफल गरिएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष ईश्वरराज अधिकारीले सबै प्रकारका खाद्य व्यवसायको नियमित अनुगमन गर्नुपर्ने बताए। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेका अनुगमन तथा कारबाहीका विवरण सार्वजनिक गर्दै अनुगमनलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

खाद्यवस्तुको गुणस्तर र स्वच्छता कायम गर्न सरकारी निकाय, व्यवसायी र उपभोक्ता सबै जिम्मेवार हुनुपर्ने उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले चाडपर्वका समयमा बजारमा भीडभाड बढ्ने भएकाले कम गुणस्तरका खाद्यवस्तु उपभोक्तासम्म पुग्ने जोखिम बढ्ने बताए। उत्पादन, बजारीकरणदेखि उपभोगसम्म खाद्यवस्तुको गुणस्तर कायम गर्नुपर्ने उनको भनाइ थियो।

प्रजिअ सापकोटाले व्यवसायीलाई कानुनी कारबाहीको अवस्था आउन नदिने गरी स्वअनुशासित भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरे। “खाद्य स्वच्छताका लागि भान्सा र शौचालय सफा राख्नुपर्छ,” उनले भने, “सम्बन्धित सुरक्षा निकाय, प्रशासन तथा अन्य सरोकारवाला निकायले पनि यस विषयमा ध्यान दिन आवश्यक छ।”

कर्णालीमा पर्याप्त प्राकृतिक स्रोतसाधन रहेको उल्लेख गर्दै उनले उपलब्ध स्रोतको सदुपयोग गरी गुणस्तरीय खाद्यवस्तु उत्पादन तथा उपभोगमा जोड दिनुपर्ने बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख श्रीराम न्यौपानेले सीमित स्रोतसाधन र कर्मचारी अभावका बाबजुद बजार अनुगमनलाई निरन्तरता दिइरहेको बताए। कर्णालीमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी साना होटलदेखि तारे होटलसम्म अनुगमन गरिने उनले जानकारी दिए।

“चाडपर्व लक्षित अनुगमनका साथै मिठाइ पसल, पानीका जार तथा अन्य खाद्य उद्योगको समेत अनुगमन गरिरहेका छौँ,” न्यौपानेले भने, “बसपार्कलगायत बढी भीडभाड हुने क्षेत्रमा सञ्चालित खाद्य व्यवसायलाई पनि अनुगमनको दायरामा ल्याइएको छ।”

साना चिया तथा नास्ता पसलमा नियमित रूपमा पुग्न नसकिएको भन्दै उनले त्यस्ता व्यवसायको अनुगमनमा स्थानीय तहले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। बजेट घटेर आएकाले अनुगमनमा समस्या भएको उल्लेख गर्दै उनले राजमार्ग तथा अन्य क्षेत्रमा सञ्चालित होटलको मापदण्ड निर्धारण गरी गुणस्तरको अवस्था देखाउने स्टिकर टाँस्ने तयारी भइरहेको जानकारी दिए।

कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले खाद्य स्वच्छता, खाद्यजन्य रोग र दूषित खाद्यवस्तुबाट मानव स्वास्थ्यमा पर्न सक्ने असरबारे प्रस्तुतीकरण गरेका थिए। उनले खाद्यवस्तुमा हुन सक्ने जैविक तथा भौतिक जोखिम, कृषिजन्य उत्पादन दूषित हुने कारण र खाद्य गुणस्तर कायम गर्न अपनाउनुपर्ने सावधानीबारे जानकारी गराए।

जैविक जोखिमअन्तर्गत ब्याक्टेरिया, भाइरस तथा परजीवीबाट खाद्यवस्तु दूषित हुन सक्ने तथा भौतिक जोखिमअन्तर्गत फलामका टुक्रालगायत बाह्य वस्तु खाद्यवस्तुमा मिसिन सक्ने विषयमा पनि प्रस्तुतीकरण गरिएको थियो। ढुसीबाट उत्पादन हुने विषाक्त पदार्थ, एन्टिबायोटिकको जथाभावी प्रयोग तथा प्रतिजैविक प्रतिरोधका विषयमा समेत छलफल गरिएको थियो।

दूषित खाना सेवन गर्दा खाद्यजन्य रोग लाग्न सक्ने भएकाले खाद्यवस्तुको उत्पादन, प्रशोधन, भण्डारण, प्याकेजिङ तथा बिक्री–वितरणमा स्वच्छता कायम गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो। खाद्य स्वच्छतासम्बन्धी नीति, ऐन, नियम, निर्देशिका तथा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पनि औँल्याइएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज २५ गतेसम्म विभिन्न बजार, होटल तथा उद्योगमा ४८५ वटा अनुगमन गरिएको छ। अनुगमनका क्रममा १ लाख ८६ हजार ४७७ रुपैयाँ बराबरका खाद्यवस्तु जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ।

खाद्य अनुसन्धान अधिकृत कपिल सुवेदीका अनुसार साउनमा ४४, भदौमा ४१ र असोज २५ गतेसम्म ४०० वटा बजार, होटल तथा उद्योगको अनुगमन गरिएको छ। यसैगरी चालु आर्थिक वर्षमा हालसम्म ९४ वटा तरकारी तथा फलफूलको समेत अनुगमन गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।