मुगुको खत्याड गाउँपालिका–११, बिरा खोलामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा स्काईभेटरसहित चालक पुरिएका छन्। दुर्घटनामा स्काईभेटरका सहचालक घाइते भएका छन्।

सोमबार बिहान मुगु–रारा भित्री सडक खण्डअन्तर्गत बेलिब्रिज जोड्ने सडक निर्माणका लागि सडक काट्ने क्रममा माथिबाट एक्कासि पहिरो खसेको हो। पहिरोमा बा ३ क ३२७६ नम्बरको स्काईभेटरसहित बझाङका २४ वर्षीय चालक विमल बाग पुरिएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिए।
पहिरोमा पुरिएका चालकको उद्धारका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। पहिरो पन्छाएर चालकलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्काईभेटरका सहचालक मुगुको सोरु गाउँपालिका–१ का २२ वर्षीय विनय मल्ल घाइते भएका छन्। माथिबाट खसेको ढुंगाले उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। मल्ल बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
उद्धार तथा खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी माझचौरबाट १३ जना प्रहरी घटनास्थलमा परिचालन गरिएको छ।






