सुर्खेतको चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा निर्वाचित पदाधिकारी तथा सभा सदस्यहरूको सुविधा शीर्षकमा झण्डै ७० लाख रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार गाउँपालिकाले जनप्रतिनिधि तथा सभा सदस्यहरूको विभिन्न सुविधा शीर्षकमा कुल ६९ लाख ९३ हजार रुपैयाँ खर्च गरेको हो।

कर्णाली प्रदेश सरकारले जारी गरेको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७७’ मा भएको व्यवस्थाअनुसार चौकुने गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष, १० जना वडाध्यक्ष, ६ जना कार्यपालिका सदस्य र ३५ जना सभा सदस्यका लागि विभिन्न शीर्षकमा रकम खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
गाउँपालिकाले जनप्रतिनिधि तथा सभा सदस्यका लागि टेलिफोन तथा मोबाइल, पुस्तक–पत्रपत्रिका तथा इन्टरनेट, अनुगमन, अतिथि सत्कार, खानेपानी तथा सरसफाइ, चाडपर्व तथा विद्युत् तथा ऊर्जा गरी सात शीर्षकमा सुविधा उपलब्ध गराएको देखिएको छ।
यीमध्ये सबैभन्दा बढी रकम अनुगमन शीर्षकमा खर्च भएको छ। गत वर्ष चाैकुने गाउँपालिकाले अनुगमनका नाममा मात्रै २५ लाख २० हजार रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार गाउँपालिका अध्यक्ष खड्क विकका लागि अनुगमन शीर्षकमा १ लाख ८० हजार रुपैयाँ र उपाध्यक्ष नरबहादुर बान्तोलाका लागि १ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै, १० जना वडाध्यक्षका लागि ९ लाख ६० हजार, ६ जना कार्यपालिका सदस्यका लागि ३ लाख ३६ हजार तथा ३५ जना सभा सदस्यका लागि ८ लाख ४० हजार रुपैयाँ अनुगमनका नाममा खर्च गरिएको छ।
त्यसैगरी, गाउँपालिकाले अतिथि सत्कार शीर्षकमा १० लाख ८० हजार रुपैयाँ खर्च गरेको छ। यसमध्ये अध्यक्ष विकले ६० हजार र उपाध्यक्ष बान्तोलाले ४८ हजार रुपैयाँ अतिथि सत्कारमा खर्च गरेका छन्।
यस्तै, १० जना वडाध्यक्षका लागि ४ लाख ८० हजार, ६ जना कार्यपालिका सदस्यका लागि ७२ हजार तथा ३५ जना सभा सदस्यका लागि ४ लाख २० हजार रुपैयाँ अतिथि सत्कार शीर्षकमा खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
जनप्रतिनिधि तथा सभा सदस्यका लागि टेलिफोन तथा मोबाइल सुविधामा ९ लाख २४ हजार रुपैयाँ खर्च भएको छ। अध्यक्ष र उपाध्यक्षले जनही ३६ हजार रुपैयाँका दरले सुविधा लिएका छन्। १० जना वडाध्यक्षका लागि ३ लाख ६० हजार, ६ जना कार्यपालिका सदस्यका लागि ७२ हजार तथा ३५ जना सभा सदस्यका लागि ४ लाख २० हजार रुपैयाँ टेलिफोन तथा मोबाइल सुविधामा खर्च भएको देखिएको छ।
त्यस्तै, पुस्तक, पत्रपत्रिका तथा इन्टरनेट सुविधामा ७ लाख १४ हजार रुपैयाँ खर्च भएको छ। यस शीर्षकमा अध्यक्ष विक र उपाध्यक्ष बान्ला जनही ३६ हजार रुपैयाँका दरले सुविधा लिएका छन्। १० जना वडाध्यक्षका लागि ३ लाख ६० हजार, ६ जना कार्यपालिका सदस्यका लागि ७२ हजार तथा ३५ जना सभा सदस्यका लागि २ लाख १० हजार रुपैयाँ खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
गाउँपालिकाले खानेपानी तथा सरसफाइ शीर्षकमा ४ लाख ८६ हजार रुपैयाँ खर्च गरेको छ। अध्यक्ष विकले ४८ हजार र उपाध्यक्ष बान्तोलाले ३६ हजार रुपैयाँ खर्च गरेका छन्। १० जना वडाध्यक्षका लागि १ लाख २० हजार, ६ जना कार्यपालिका सदस्यका लागि ७२ हजार तथा ३५ जना सभा सदस्यका लागि २ लाख १० हजार रुपैयाँ खर्च भएको छ।
त्यसैगरी, चाडपर्व खर्च शीर्षकमा कुल ७ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ। अध्यक्ष र उपाध्यक्षले जनही १५ हजार रुपैयाँका दरले सुविधा लिएका छन्। १० जना वडाध्यक्षका लागि १ लाख ५० हजार, ६ जना कार्यपालिका सदस्यका लागि ९० हजार तथा ३५ जना सभा सदस्यका लागि ५ लाख २५ हजार रुपैयाँ चाडपर्व खर्चका रूपमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, विद्युत् तथा ऊर्जा शीर्षकमा ४ लाख ७४ हजार रुपैयाँ खर्च भएको छ। यसमध्ये अध्यक्ष र उपाध्यक्षले जनही ३६ हजार रुपैयाँ, १० जना वडाध्यक्षका लागि १ लाख २० हजार, ६ जना कार्यपालिका सदस्यका लागि ७२ हजार तथा ३५ जना सभा सदस्यका लागि २ लाख १० हजार रुपैयाँ खर्च गरिएको छ।
समग्रमा पालिकाका जनप्रतिनिधिलाई हेर्दा गाउँपालिका अध्यक्ष विकका लागि ४ लाख ११ हजार रुपैयाँ खर्च भएको छ। उपाध्यक्ष बान्ताेलाका लागि ३ लाख ५१ हजार, १० जना वडाध्यक्षका लागि २५ लाख ५० हजार, ६ जना कार्यपालिका सदस्यका लागि ८ लाख ४६ हजार तथा ३५ जना सभा सदस्यका लागि २८ लाख ३५ हजार रुपैयाँ खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।









गाउँ का श्री 3 छोटे राजा हरु