सुनसरीमा दुई समुदायबीच भएको झडप र प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको घटनालाई लिएर पूर्वमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। घटनामा एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित करिब डेढ दर्जन व्यक्ति घाइते भएका छन्।
घटनापछि सोमबार पनि उक्त क्षेत्र तनावग्रस्त बनेको छ। स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ भने घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ।
यही घटनालाई लिएर नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङमाथि राजनीतिक र नैतिक जिम्मेवारी रहेको उल्लेख गर्दै राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले सरकारले घटनाप्रति गम्भीर जवाफदेहिता देखाउनुपर्ने भन्दै गृहमन्त्रीले नैतिक जिम्मेवारी स्वीकार गरी पदबाट अलग हुनुपर्ने धारणा व्यक्त गरेका छन्।








