२०८३ भदौ २७ , शनिबार

चौकुने गाउँपालिकामा इन्धन खर्चमा बेथिति, मापदण्डबिनै ६३ लाख १९ हजार रुपैयाँ खर्च



सुर्खेतको चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा इन्धन खर्चका लागि स्पष्ट मापदण्ड नबनाई ६३ लाख १९ हजार ३६३ रुपैयाँ २५ पैसा खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनले इन्धन खर्चमा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको औँल्याएको छ ।

प्रतिवेदनअनुसार गाउँपालिकामा २ वटा लोडर, २ वटा टिपर, १ वटा एक्साभेटर, ३ वटा एम्बुलेन्स, १ वटा चारपाङ्ग्रे सवारीसाधन र ३४ वटा मोटरसाइकल सञ्चालनमा छन् । ती सवारीसाधनका लागि इन्धनको भुक्तानी गर्दा कार्य सञ्चालन निर्देशिका २०८१ बमोजिम तय भएको इन्धन खर्च मापदण्ड बमोजिम गत वर्ष ६८ लाख ६५ हजार रुपैयाँ

बजेट विनियोजन गरिएकोमा इन्धन शीर्षकबाट ६३ लाख १९ हजार ३६३ रुपैयाँ २५ पैसा खर्च गरिएको छ । तर, पदाधिकारी तथा कर्मचारीलाई उपलब्ध गराइने इन्धनको मापदण्ड गाउँपालिकाले तयार नगरेको प्रतिवेदनमा उल्लेख छ । इन्धन वितरण र खर्च कुन आधारमा गरिएको हो भन्ने स्पष्ट नदेखिएको भन्दै महालेखाले खर्च प्रक्रिया पारदर्शी नभएको जनाएको छ ।

यस्तै, प्रत्येक सवारीसाधनको लगबुक राखी सम्बन्धित पदाधिकारीबाट प्रमाणित गराउनुपर्ने कानुनी व्यवस्था भए पनि गाउँपालिकाले लगबुक नियमित रूपमा अद्यावधिक नगरेको पाइएको छ । इन्धन प्रयोगको व्यवस्थित अभिलेखसमेत नराखिएकाले वास्तविक खपत र खर्चको यथार्थ पुष्टि गर्न कठिन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।