२०८३ साउन ११ , सोमबार

धनगढीमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको उपचारका क्रममा मृत्यु



धनगढीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका निवासी ३५ वर्षीय ज्योति चौधरीको थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा धादिङमा मृत्यु भएको हो।

प्रहरीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७:३० बजे आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि आफन्तले तत्काल उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए।

उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। अवस्था गम्भीर भएपछि प्रारम्भिक उपचारपछि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। त्यसपछि परिवारले थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार काठमाडौं लैजाने क्रममा धादिङ पुगेपछि उनको मृत्यु भएको हो। घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।