२०८३ मंसिर १० , बिहीबार

कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो १५८ कर्मचारी, चौथो तहका विभिन्न पदमा विज्ञापन



कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सेवाका चौथो तहका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि १५८ कर्मचारी माग गरेको छ।

आयोगले मंगलबार प्रकाशित गरेको विज्ञापनअनुसार खुला, समावेशी तथा आन्तरिक अन्तरसेवा प्रतियोगितात्मक परीक्षाबाट १५३ र ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाबाट पाँच पदमा पदपूर्ति गर्न लागेको हो।

प्रतियोगितात्मक परीक्षातर्फ अप्राविधिक सेवामा ५१ र प्राविधिक सेवामा १०२ पद रहेका छन्। आयोगले स्थानीय प्रशासन, कृषि, इन्जिनियरिङ तथा स्वास्थ्य सेवाका विभिन्न समूह र उपसमूहमा कर्मचारी माग गरेको छ।

अप्राविधिकतर्फ प्रशासन सहायक र लेखा सहायक पदमा विज्ञापन गरिएको छ। प्रशासन सहायकको खुला प्रतियोगिताबाट २१ र आन्तरिक अन्तरसेवा प्रतियोगिताबाट ११ पदमा पदपूर्ति गरिनेछ। त्यस्तै, खस आर्य समूहअन्तर्गत प्रशासन सहायकमा छ र लेखा सहायकमा एक गरी सात पद छुट्याइएको छ। अन्य पद विभिन्न समावेशी समूहका लागि निर्धारण गरिएको छ।

त्यसैगरी, प्राविधिकतर्फ नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिक, नायव पशु सेवा प्राविधिक, अमिन, असिस्टेन्ट सब इन्जिनियर, खानेपानी तथा सरसफाइ प्राविधिक, अनमी र अहेव पदमा कर्मचारी माग गरिएको छ।

प्राविधिक पदमध्ये असिस्टेन्ट सब इन्जिनियरमा सबैभन्दा बढी २५ पद खुला प्रतियोगिताबाट पदपूर्ति गरिनेछ। अनमीमा नौ, अहेवमा सात, नायव प्राविधिक सहायकमा छ, नायव पशु स्वास्थ्य प्राविधिकमा पाँच र नायव पशु सेवा प्राविधिकमा तीन पदका लागि विज्ञापन गरिएको छ।

 

प्रकाशित मिति : २०८३ कात्तिक २४ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।