मध्यपश्चिम विश्वविद्यालयले विभिन्न संकायका डिन तथा निर्देशनालयका निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।

विश्वविद्यालयले सार्वजनिक गरेको सूचना अनुसार सातवटा ग्राजुएट स्कुलका डिन र अनुसन्धान निर्देशनालय तथा पाठ्यक्रम विकास निर्देशनालयका एक–एक जना कार्यकारी निर्देशक नियुक्त गर्न आवेदन माग गरेको हो।
डिन पदका लागि कृषि तथा वन विज्ञान, शिक्षा, इन्जिनियरिङ, मानविकी तथा सामाजिक विज्ञान, कानून, व्यवस्थापन र विज्ञान तथा प्रविधि विषयका ग्राजुएट स्कुलमा एक–एक जना नियुक्त गरिनेछ।
त्यस्तै, अनुसन्धान निर्देशनालय र पाठ्यक्रम विकास निर्देशनालयमा एक–एक जना कार्यकारी निर्देशक नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ।
इच्छुक तथा योग्य उम्मेदवारले शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणित प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा) र विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजनासहित आवेदन दिनुपर्नेछ।
आवेदकले बढीमा २ हजार ५०० शब्दको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना तयार गरी विश्वविद्यालयको आधिकारिक इमेल application@mu.edu.np मा पठाउनुपर्ने सूचनामा उल्लेख छ।
आवेदन दिने अन्तिम म्याद २०८३ साल मंसिर १३ गते राति १२ बजेसम्म तोकिएको छ।
कार्ययोजनामा संस्थाको विद्यमान अवस्थाको विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा तथा स्रोत, बजेट र अनुगमनका विषय समेट्नुपर्नेछ।












