छैटौँ बाबियाचौर च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक बाबियाचौर स्पोर्ट्स क्लबले जितेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा एलएफसी पलाइटेलाई २–० गोल अन्तरले पराजित गर्दै बाबियाचौर स्पोर्ट्स क्लब च्याम्पियन बनेको हो।

उपाधि जित्ने क्रममा बाबियाचौर स्पोर्ट्स क्लबले खेलमा दुई गोल गरेको थियो। उपाधिसँगै विजेता टोलीले नगद ४ लाख १ हजार ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै, उपविजेता एलएफसी पलाइटेले नगद २ लाख १ हजार ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
१४ टोलीको सहभागिता रहेको प्रतियोगिताले स्थानीय फुटबलको विकास र प्रतिभावान् खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन समारोहमा नगर प्रमुख लालवीर भण्डारीले खेलकुदले युवालाई अनुशासित, सिर्जनशील र स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीयस्तरमा यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
बाबियाचौर स्पोर्ट्स क्लबका अध्यक्ष कृष्ण रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो।











