अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले अब बिना धितो र बिना जमानी एक लाख अमेरिकी डलरसम्म शैक्षिक ऋण पाउने भएका छन् ।
एमपावर फाइनान्सिङ (MPower Financing) नामक अमेरिकी संस्थाले स्नातकोत्तर (पोष्टग्राजुएट) तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अधिकतम एक लाख अमेरिकी डलर (करिब एक करोड ३० लाख रुपैयाँ) सम्मको शैक्षिक ऋण उपलब्ध गराउने भएको हो ।

संस्थाका अनुसार ऋण लिनका लागि विद्यार्थीले जग्गा–जमिन वा अन्य कुनै सम्पत्ति धितो राख्नुपर्ने छैन । त्यस्तै, अमेरिकामा कोसाइनर (जमानीकर्ता) खोज्नुपर्ने बाध्यता पनि हुने छैन ।
बैंक तथा वित्तीय संस्थाले प्रायः सम्पत्ति धितो राख्नुपर्ने वा अमेरिकामा जमानीकर्ता खोज्नुपर्ने सर्त राख्ने गरेकाले धेरै योग्य विद्यार्थीलाई शैक्षिक ऋण लिन कठिनाइ भइरहेको संस्थाले जनाएको छ । यही समस्या समाधान गर्ने उद्देश्यले आफूहरूले यस्तो सुविधा सुरु गरेको संस्थाको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि बंगलादेश, पाकिस्तान र अफ्रिकी मुलुकका २० हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराइसकेको संस्थाले अब नेपाली विद्यार्थीका लागि पनि यो सुविधा खुला गरेको जनाएको छ । विशेषगरी विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित, व्यवसाय तथा व्यावसायिक अध्ययन गर्ने विद्यार्थीका लागि यो सुविधा उपयोगी हुने संस्थाको भनाइ छ ।
पछिल्ला वर्षहरूमा अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दो क्रममा छ । हाल ३२ हजारभन्दा बढी नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयमा अध्ययनरत छन् । एकै वर्षमा नेपाली विद्यार्थीको संख्या ४२ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।
संस्थाले विद्यार्थीको पारिवारिक वा पैतृक सम्पत्तिभन्दा पनि विश्वविद्यालयमा प्राप्त भर्ना, अध्ययन गर्ने विषय र भविष्यमा आम्दानी गर्न सक्ने क्षमतालाई आधार बनाएर ऋण मूल्याङ्कन गर्ने जनाएको छ ।

विद्यार्थीले न्यूनतम दुई हजार एक अमेरिकी डलरदेखि अधिकतम एक लाख डलरसम्म ऋणका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणले ट्युसन शुल्कसँगै बसोबास तथा अन्य शैक्षिक खर्चसमेत समेट्ने संस्थाको भनाइ छ ।
आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल हुने, स्थिर ब्याजदर कायम गरिने र भुक्तानी योजना पारदर्शी हुने संस्थाले जनाएको छ । यसले विद्यार्थी तथा अभिभावकलाई अध्ययन खर्च व्यवस्थापन गर्न सहज हुने संस्थाको दाबी छ ।
शैक्षिक ऋणका अतिरिक्त संस्थाले छात्रवृत्ति, भिसा प्रक्रियामा सहयोग तथा करिअर तयारीसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।











