२०८३ भदौ २७ , शनिबार
विश्वकप २०२६

फिफा विश्वकप २०२६ को शीर्ष चार वरीयताकै टोली पुगे सेमिफाइनलमा



विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फिफा विश्व वरीयताका शीर्ष चार टोलीले स्थान बनाएका छन्। फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्ड अन्तिम चारमा पुग्दै उपाधि दौडलाई थप रोमाञ्चक बनाएका हुन्।

ताजा फिफा विश्व वरीयताअनुसार फ्रान्स दुई स्थान सुधार गर्दै १,९४८.९७ अंकसहित शीर्ष स्थानमा पुगेको छ। अर्जेन्टिना १,९४३.४७ अंकका साथ दोस्रो, स्पेन १,९३४.७९ अंकसहित तेस्रो तथा इंग्ल्यान्ड १,८८९.४२ अंकसहित चौथो स्थानमा रहेका छन्।

क्वार्टरफाइनलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो। अब फ्रान्सले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा पुगेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ।

यी दुवै सेमिफाइनल खेल आगामी बुधबार र बिहीबार राति हुनेछन्। त्यसपछि विजेता टोलीहरू फाइनलमा भिड्नेछन् भने पराजित टोलीहरूले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो स्थानको खेल आगामी आइतबार राति २ः४५ बजे र फाइनल खेल सोमबार बिहान १२ः४५ बजे हुने तालिका छ।

यस संस्करणको विश्वकपमा ४८ टोली सहभागी भएका थिए। हालसम्म १०४ मध्ये १०० खेल सम्पन्न भइसकेका छन् भने ४४ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको यस विश्वकपमा अब उपाधिका लागि चार बलिया टोलीबीचको प्रतिस्पर्धाले विश्व फुटबल समर्थकको ध्यान खिचेको छ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।