सुर्खेत कारागारमा एक १९ वर्षीया युवती मृत फेला परेकी छन्। बिहीबार राति करिब १२ बजे दैलेखको गुराँस गाउँपालिका–४ घर भएकी संगीता शाही कारागारभित्र मृत अवस्थामा फेला परेकी हुन्।
सुर्खेत कारागारको ५ नम्बर कोठामा रहेकी शाही कारागारभित्रको शौचालयमा तन्नाको पासो लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डीएसपी कविन्द्र सिंह बोहराले जानकारी दिए।
डीएसपी बोहराका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतकका आफन्तसमेत कारागार आउने क्रम रहेको उनले बताए।
शाही गत असोजमा वीरेन्द्रनगर नगरपालिका–९ का २५ वर्षीय विशाल रावलको मृत्यु प्रकरणमा पक्राउ परेकी थिइन्। उनीमाथि कर्तव्य ज्यान मुद्दा चलिरहेको थियो।
घटनाको वास्तविक कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार











