२०८३ साउन ११ , सोमबार

दिल्लीमा युवाको शक्ति प्रदर्शन



भारतको राजधानी नयाँ दिल्ली सोमबार दिनभर तनावग्रस्त बन्यो। कनट प्लेस, जनपथ र जन्तर–मन्तर आसपासका क्षेत्र हजारौँ विद्यार्थी र युवाको उपस्थितिले भरिएका थिए। संसद् मार्चको आह्वानसँगै राजधानीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। कतिपय मेट्रो स्टेसन र सडक बन्द गरिए पनि युवाहरू बिहानैदेखि जन्तर–मन्तरतर्फ पुग्ने प्रयासमा जुटेका थिए।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप भयो। अश्रुग्यास प्रहार र लाठीचार्जका बाबजुद प्रदर्शनकारीहरू साँझसम्म जन्तर–मन्तरमा डटेर बसेका थिए। उनीहरूले शिक्षा प्रणालीमा व्यापक सुधार गर्न तथा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

झण्डै एक महिनादेखि ककरोच जनता पार्टी (सीजेपी) को अगुवाइमा चलिरहेको आन्दोलनले सोमबार अभूतपूर्व सहभागिता देखायो। सामाजिक सञ्जालमा लोकप्रिय बनेको सीजेपीको वास्तविक जनाधारबारे उठिरहेका प्रश्नबीच हजारौँ विद्यार्थी सडकमा उत्रिएपछि आन्दोलनले नयाँ राजनीतिक र सामाजिक सन्देश दिएको विश्लेषण गरिएको छ।

प्रदर्शनमा सहभागी अधिकांश युवा कलेजका विद्यार्थी तथा विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थी थिए। उनीहरूले शिक्षा प्रणालीको सुधारसँगै महँगी, बेरोजगारी र सरकारको जबाफदेहितासम्बन्धी माग पनि जोडदार रूपमा उठाएका थिए।

यसबीच केन्द्र सरकार र आन्दोलनकारीबीच वार्ताको प्रयास पनि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले प्रदर्शनकारी प्रतिनिधिमण्डलसँग भेटवार्ता भएको जानकारी दिँदै उनीहरूले लिखित ज्ञापनपत्रसमेत बुझाएको बताएका छन्। उनले प्रदर्शनकारीलाई आन्दोलन स्थगित गरी सामान्य अवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेका छन्। यद्यपि, आन्दोलनको मुख्य माग—शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा—प्रति सरकारले कुनै निर्णय सार्वजनिक गरेको छैन।

आन्दोलनलाई नजिकबाट नियालिरहेकी स्वतन्त्र पत्रकार स्मिता शर्माका अनुसार सोमबारको प्रदर्शनले युवाहरूको असन्तुष्टि केवल शिक्षा क्षेत्रमा सीमित नरहेको स्पष्ट पारेको छ। उनका अनुसार महँगी, बेरोजगारी र शासनप्रतिको असन्तुष्टि पनि आन्दोलनका प्रमुख विषय बनेका छन्। उनले सरकारले यसलाई सामान्य रूपमा लिए भविष्यमा अझ ठूलो आन्दोलनको सामना गर्नुपर्ने चेतावनी दिएकी छन्।

सामाजिक अभियन्ता योगेन्द्र यादवले पनि जन्तर–मन्तरमा देखिएको युवाको सहभागितालाई लोकतान्त्रिक चेतनाको संकेतका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार युवाहरू केवल आफ्ना अधिकारका लागि होइन, न्यायपूर्ण शिक्षा प्रणाली, रोजगारीमुखी अर्थतन्त्र र जनताप्रति जबाफदेही राजनीतिक प्रणालीको माग गर्दै सडकमा उत्रिएका हुन्।

वरिष्ठ पत्रकार हेमन्त अत्रिले पनि यो प्रदर्शनलाई सरकारका लागि गम्भीर सन्देशको रूपमा टिप्पणी गरेका छन्। उनका अनुसार यस प्रदर्शनले लोकतन्त्रप्रति जनताको विश्वास अझै बलियो रहेको देखाएको छ। उनले सरकारले युवाको आवाजलाई बेवास्ता गरे त्यसको दीर्घकालीन राजनीतिक प्रभाव पर्ने बताएका छन्।

सोमबारको प्रदर्शनलाई भारतको पछिल्लो समयकै सबैभन्दा ठूलो विद्यार्थी–युवा प्रदर्शनमध्ये एक मानिएको छ। विश्लेषकहरूका अनुसार यो आन्दोलनले शिक्षा सुधारको मागसँगै देशका युवामा बढ्दो असन्तुष्टि र जबाफदेहिताको मागलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।

बीबीसी हिन्दी

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।