२०८३ भदौ २६ , शुक्रबार

कर्णाली राजमार्ग पुनः अवरुद्ध, सवारीसाधन अलपत्र



कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका–१, दैलेखस्थित भम्लु खोलामा गएराति माथिबाट सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गएराति करिब ९ः१० बजे सुक्खा पहिरो खसेपछि सडकमा यातायात ठप्प भएको हो । सडक अवरुद्ध हुँदा चार दर्जनभन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिरोका कारण भदौ २० गतेदेखि अवरुद्ध सडक मंगलबार दिउँसो २ः४५ बजेदेखि सञ्चालनमा आएको थियो । सडक सञ्चालनमा आएको केही घण्टामै दैलेखमा पुनः पहिरो खसेर अवरोध भएको हो ।

दैलेख प्रहरीले बिहान ६ बजेदेखि प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा खटाएको जनाएको छ । सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरी पहिरो पन्छाउने काम सुरु गरिएको र सम्भव भएसम्म छिटो सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौंका लागि हिँडेका स्याउ व्यापारी र यात्रुहरू प्रभावित भएका छन् । लामो समयदेखि राजमार्गमा पहिरोका कारण आवागमन प्रभावित हुँदा यात्रु तथा व्यवसायीले सास्ती खेप्दै आएका छन्।

प्रकाशित मिति : २०८३ भदौ २४ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।