अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) तथा व्यापारिक (बी–१) भिसामा धरौटी राख्नुपर्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ।

नयाँ व्यवस्थाअनुसार नेपाली नागरिकले बी–१ वा बी–२ भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी रकम बुझाउनुपर्नेछ। यो रकम नेपाली मुद्रामा करिब १५ लाखदेखि ३० लाख रुपैयाँसम्म हुन आउँछ।
यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थाअन्तर्गत ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो। नयाँ निर्णयसँगै धरौटी रकमको सीमा बढाइएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा आवेदन अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ।
भिसाको अवधि समाप्त भएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बसिरहने अर्थात् ‘ओभरस्टे’ गर्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले यो व्यवस्थालाई स्थायी बनाइएको मन्त्रालयले जनाएको छ।
दक्षिण एसियाली मुलुकमध्ये नेपाल, बंगलादेश र भुटानसहित विभिन्न ५० देशका नागरिकमा यो नियम लागू हुने बताइएको छ। अमेरिकी अध्यागमन नियमको पालना सुनिश्चित गर्न तथा भिसाको अवधि सकिएपछि अवैधानिक रूपमा बस्ने प्रवृत्ति न्यूनीकरण गर्न धरौटी व्यवस्था लागू गरिएको जनाइएको छ।









