जलवायु परिवर्तनका कारण नेपालमा आगामी दिनमा बाढी, पहिरो, डुबान र भूकम्पलगायतका विपद्को जोखिम बढ्न सक्ने भन्दै डा. नवराज केसीले देशभरका ६ हजार ७४३ वडाध्यक्षलाई खुला पत्रमार्फत विपद् पूर्वतयारीलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

उनले आगामी दिनमा सम्भावित संकटसँग जुध्न नेपालका हरेक वडामा प्रत्येक वर्ष अनिवार्य रूपमा विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।
डा. केसीले वडास्तरमा भौगोलिक जोखिम नक्सांकन (Risk Mapping) गर्नुपर्नेमा जोड दिएका छन् । वडाभित्र पहिरो, बाढी, डुबान तथा भूकम्पका दृष्टिले अति संवेदनशील र सुरक्षित क्षेत्रको पहिचान गरी विस्तृत जोखिम नक्सा तयार गर्नुपर्ने उनको सुझाव छ।
त्यस्तै, विपद्का बेला तत्काल परिचालन गर्न सकिने सामुदायिक स्वयंसेवक तयार गर्नुपर्ने बताएशा छन् । सुरक्षित रहेका नागरिकलाई ‘फर्स्ट रेस्पोन्डर’का रूपमा परिचालन गरी घाइतेको प्राथमिक उपचार, सुरक्षित अस्थायी बासस्थान तथा सामुदायिक भान्सा सञ्चालन गर्न सकिने उनको भनाइ छ।
विपद्को समयमा राजनीतिक पूर्वाग्रह र उक्साहटभन्दा माथि उठेर मानवीय उद्धार र सहयोगलाई प्राथमिकता दिनुपर्नेमा समेत उनले जोड दिएका छन्।
डा. केसीका अनुसार संघीयताको वास्तविक मर्म जनताको दैलोसम्म अधिकार पुर्याउनु मात्र होइन, हरेक बस्ती र समुदायलाई संकटका बेला स्वावलम्बी, सक्षम र जुझारु बनाउनु पनि हो, भनि उनले आफ्नो फेसबुकवालमा लेखेका छन् ।









