
तस्वीर: भरबन्धु थापा
पछिल्लो समय मानिसको मन धर्म, संस्कार र आध्यात्मिकतातर्फ पुनः फर्किन थालेको देखिन्छ। प्रकृतिका सुन्दर दृश्यसँगै कतै भगवानका रूपहरू पनि छन् कि भन्ने अनुभूति गराउने थुप्रै धार्मिक तथा प्राकृतिक स्थल नेपालमा छन्। यस्तै धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटनको सम्भावना बोकेको एउटा अद्भुत गन्तव्य हो-दैलेखको महाबु धाम।
दैलेखको महाबु गाउँपालिकामा पर्ने महाबु लेक दैलेख र कालिकोट जिल्लाको सीमाक्षेत्रमा अवस्थित छ। यस स्थानलाई पहिले ‘गाथ’ भन्ने गरिन्थ्यो। पछिल्लो समय भने ‘महाबु धाम’ वा ‘महाबु गाथ’ नामले बढी परिचित छ।

महाबु गाथ रहेको क्षेत्र विशाल र रमणीय पाटन हो। कुनै समय दैलेख, कालिकोट, जुम्लालगायतका ठाउँबाट भैँसी, भेडाबाख्रा चराउन गोठालाहरू यहाँ गोठ बनाएर बस्ने गर्दथे। चारैतिर अग्ला-अग्ला लेक, बीचबाट कालिकोटतर्फ सुसाउँदै बग्ने सानो खोला र त्यसैको वरिपरि फैलिएको हरियाली पाटनले महाबुको सौन्दर्यलाई थप मनमोहक बनाउँछ। पाटनमा चरिरहेका भेडाबाख्रा र वरिपरिको शान्त वातावरणले यहाँ पुग्ने जोकोहीलाई केही समय आफ्ना चिन्ताबाट मुक्त गराउँछ।
यही सुन्दर पाटनको एउटा थुम्कोमा विशाल ढुङ्गामाथि शिवको थान छ। त्यहाँ रहेको शिवलिङ्गप्रति स्थानीयवासी तथा भक्तजनको गहिरो धार्मिक आस्था छ। धार्मिक आस्था, स्वच्छ हावापानी, प्राकृतिक सौन्दर्य र रोमाञ्चक यात्राको अनुभव लिन चाहनेका लागि महाबु एकपटक पुग्नैपर्ने गन्तव्य हो।
समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको महाबु धाममा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजाआजा हुने गर्दछ। कालिकोटको काफ्ले कुल र दैलेखको आचार्य कुलबाट एक-एक जना गरी दुई जना पुजारीले पूजा गर्ने परम्परा रहेको छ। आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ भक्तजनहरू स्वचित्त र स्वघट लिएर यहाँ पुग्ने गर्दछन्।
पहिले महिलाहरू महाबु धाम पुगेमा अनिष्ट हुन्छ भन्ने सामाजिक मान्यता रहे पनि अहिले त्यो मान्यता हट्दै गएको छ। अहिले महिला तथा पुरुष दुवैले महाबुको दर्शन गर्न पाउछन् । भक्तजनहरू आफ्नो मनोकांक्षा पूरा होस् भन्ने कामनासहित महादेवलाई त्रिशूल चढाउने गर्दछन्।
महाबु धामसम्म पुग्न पैदल यात्रा गर्दा करिब डेढ दिन लाग्ने गर्दछ। पछिल्लो समय अधिकांश भक्तजन जीप तथा मोटरसाइकलबाट पनि यहाँ पुग्ने गरेका छन्। भुर्तीका आचार्य ब्राह्मणहरू पूजा हुने दिन बिहानैदेखि हिँडेर शिव उत्पत्ति भएको स्थानमा पुग्ने गरेको स्थानीयहरू बताउँछन्। अन्य यात्रुका लागि भने यो यात्रा दुई दिनसम्मको हुन सक्छ।

तस्वीर: भरबन्धु थापा
महाबु धामको धार्मिक महिमा र प्राकृतिक सौन्दर्यकै कारण नेपालका विभिन्न ठाउँसँगै भारतबाट समेत हजारौँ तीर्थयात्री यहाँ पुग्ने गर्दछन्। जनैपूर्णिमाका दिन हुने विशेष पूजाका साथै चतुर्दशीमा समेत विशेष पूजापाठ हुने परम्परा छ। महादेवसँग एउटा मात्र वर मागे पनि पूरा हुन्छ भन्ने जनविश्वास आजसम्म कायमै छ।
महाबु धाम पुग्ने भक्तजनहरूले मुख्य मन्दिरभन्दा करिब चार सय मिटर टाढाबाटै मुखमा बुकी, झार तथा घाँस च्याप्ने परम्परा पनि छ। त्यस्तै, दाम्लो बाँधेकै स्थानमा मरेका पशुचौपायाको मोक्ष प्राप्तिको कामनासहित किसानहरूले आफ्नो घाँटीमा दाम्लो बाँधेर पूजा गर्ने प्रचलनसमेत रहेको छ।
शिवलिङ्ग रहेको स्थानमा भक्तजनहरूले मौन बसेर एक, तीन वा सात पटकसम्म परिक्रमा गर्ने गर्दछन्। महाबु धाम पुग्दा बाटोमा पर्ने इँटाको उकालो, छान्ना, दशरथे, ओखरबाँस, भावसैनी, नाउली, उनिपाटा हुँदै लिस्नेको उकालो पार गरेपछि महाबु पाटन पुगिन्छ। कतिपय ठाउँमा हाँगो समातेर टेक्ने ठाउँसमेत सहज नहुने अत्यन्तै ठाडो उकालो छ। तर धार्मिक आस्था र आत्मविश्वासका साथ बालबालिका, वृद्धवृद्धा, महिला तथा पुरुष सबैले यो कठिन यात्रा गर्दै आएका छन्।
महाबु पाटनबाट जुम्ला, कालिकोट, दैलेख र जाजरकोटका विभिन्न गाउँहरू सहजै देख्न सकिन्छ। मौसम सफा भएका बेला असोज-कात्तिकका दिनमा बर्दिया, टीकापुर, नेपालगन्ज र सुर्खेतसम्मका भू-भागसमेत देख्न सकिने स्थानीयहरू बताउँछन्। यही कारण साउन महिनाको जनैपूर्णिमामा दुईदिनसम्म महाबु मेला लाग्ने गर्दछ, र सुदूरपश्चिमका विभिन्न जिल्लासँगै भारतबाट समेत दशौँ हजार भक्तजन महाबुमा पुग्ने गर्दछन्।
लाटो गोठालो र शिवलिङ्गको किंवदन्ती
महाबुका बारेमा अनेकौँ किंवदन्ती प्रचलित छन्। तीमध्ये सबैभन्दा चर्चित किंवदन्ती दैलेखको भुर्ती आचार्य कुलसँग जोडिएको छ।

तस्वीर: भरबन्धु थापा
किंवदन्तीअनुसार भुर्ती आचार्य कुलका ‘लाटो बाहुन’ले धेरै गाई पाल्ने गर्दथे। उनका एउटा गाईले दूध दिन छाडेपछि उनले गाईले कहाँ दूध दिइरहेको छ भन्ने कुरा पत्ता लगाउन चियो गर्न थाले। त्यसक्रममा अहिले शिवलिङ्ग रहेको स्थानमा गाईले आफैँ दूध चढाउने गरेको उनले देखे।
त्यो दृश्य देखेपछि त्यहाँ के रहेछ भन्ने जान्न उनलाई उत्सुकता भयो। उनले हँसियाको टुप्पोले उक्त स्थान कोट्याएर हेर्दा शिवलिङ्ग देखिएको किंवदन्ती छ।
त्यसपछि एक दिन उनी त्यही ढुङ्गामा सुतेका बेला सपनामा महादेव प्रकट भएको र आफूलाई नियमित दूध चढाउन तथा शिवलिङ्ग भेटिएको कुरा अरूलाई नभन्न निर्देशन दिएको विश्वास गरिन्छ। महादेवको निर्देशनअनुसार पूजा गर्न थालेपछि लाटो गोठालो बोल्न सक्ने भएको र त्यसै घटनाबाट महाबुमा शिवलिङ्ग उत्पत्ति भएको जनविश्वास रहेको छ।
चलचित्र हब बन्ने सम्भावना
धार्मिक पर्यटनसँगै महाबुमा चलचित्र पर्यटनको समेत ठूलो सम्भावना देखिन्छ। महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही महाबुलाई चलचित्र हबका रूपमा विकास गर्ने योजना रहेको बताउँछन्।

तस्वीर: भरबन्धु थापा
‘चलचित्र निर्माणका लागि महाबु अत्यन्तै सुन्दर र रमणीय ठाउँ हो। चलचित्र विकास बोर्डले समेत यहाँ आएर अनुगमन गरिसकेको छ,’ उनी भन्छन्, ‘नेपाल सरकारले पनि चलचित्र हबका लागि स्वीकृति दिइसकेको छ।’
महाबुमा प्राकृतिक दृश्य, हिमाली भूगोल, पाटन, ग्रामीण जीवनशैली र धार्मिक सम्पदाको अद्भुत संयोजन रहेकाले चलचित्र तथा डकुमेन्ट्री निर्माणका लागि यो क्षेत्र आकर्षक गन्तव्य बन्न सक्छ।
बजेट विनियोजन, तर पूर्वाधारको अभाव
महाबुको विकासका लागि विभिन्न समयमा बजेट विनियोजन हुँदै आए पनि यहाँको मुख्य समस्या भने पूर्वाधारकै रहेको देखिन्छ। महाबु पुग्ने सडकले अझै अपेक्षित स्वरूप लिन सकेको छैन। वर्षायाममा सडक हिलाम्मे हुने, सवारीसाधन बाटोमै फस्ने जोखिम हुने र पैदल यात्रुका लागि समेत सहज बाटो नहुँदा भक्तजनले सास्ती खेप्नुपरेको छ।
महाबु पुग्ने यात्रुका लागि पर्याप्त आवासको व्यवस्था छैन। कालिकोटतर्फको सीमाक्षेत्रमा केही धर्मशाला र दैलेखतर्फ पनि केही आश्रयस्थल भए पनि महाबु पाटनमै व्यवस्थित बसोबासको सुविधा छैन। भएका धर्मशाला पनि पर्याप्त सरसफाइ र व्यवस्थापनको अभावमा प्रयोग गर्न कठिन हुने अवस्था छ।
त्यसैगरी, खानेकुराको मूल्यसमेत सामान्यभन्दा महँगो हुने गुनासो भक्तजनको छ। लामो र कठिन यात्रा गरेर पुग्ने तीर्थयात्रीका लागि बाटोमा पर्याप्त विश्रामस्थल, शौचालय, खानेपानी, स्वास्थ्य तथा सुरक्षा सेवा आवश्यक छ।
पर्यटकीय सम्भावना बोकेका यस्ता क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासमा राज्य तथा सम्बन्धित निकायले पर्याप्त ध्यान दिन नसक्दा महाबु अझै अपेक्षाकृत ओझेलमा परेको छ। स्थानीय तहले योजना बनाउने गरे पनि योजनाअनुसारको काम र प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो स्थानीय तथा भक्तजनको छ।
महाबुको सडक स्तरोन्नति, ठाउँ-ठाउँमा यात्रु प्रतीक्षालय, व्यवस्थित धर्मशाला तथा होटल, खानेपानी, शौचालय, स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध गर्न सकिने हो भने यहाँ आउने पर्यटक तथा तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा बढ्न सक्छ।
महाबु केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, प्रकृति, संस्कृति, साहसिक यात्रा र पर्यटनको सम्भावना बोकेको क्षेत्र पनि हो। व्यवस्थित पूर्वाधार र प्रभावकारी प्रचारप्रसार हुने हो भने महाबुलाई कर्णालीकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ।
लेखक पुष्कर खड्का









