२०८३ भदौ २६ , शुक्रबार
सम्पादकीय

जेन-जी आन्दोलनको एक वर्ष



आज भदौ २३ गते। एक वर्षअघि यही दिन जेन–जी पुस्ताका युवाले भ्रष्टाचार, बेथिति र राजनीतिक अस्थिरताविरुद्ध ठूलो आन्दोलन गरेका थिए। त्यस आन्दोलनले सरकार परिवर्तनदेखि नयाँ निर्वाचन र वैकल्पिक राजनीतिक शक्तिको उदयसम्मको बाटो खोल्यो।

आज त्यही आन्दोलनको जगमा बनेको सरकारले भदौ २३ लाई जेन–जी सहिद दिवसका रूपमा सार्वजनिक बिदा दिएको छ। आन्दोलनमा ज्यान गुमाएका युवालाई सम्झिनु र सम्मान गर्नु सकारात्मक कदम हो। तर एक दिनको सार्वजनिक बिदाले मात्र आन्दोलनको मर्म सम्बोधन हुँदैन।

जेन-जीले खोजेको परिवर्तन सुशासन, विधिको शासन, भ्रष्टाचारको अन्त्य, रोजगारी तथा गुणस्तरीय शिक्षा–स्वास्थ्य हो। तर आन्दोलनको एक वर्षपछि पनि युवामा आशाभन्दा निराशा बढ्दै जानु गम्भीर विषय हो।

सरकारले अब भाषणभन्दा परिणाम देखाउन आवश्यक छ। निजी क्षेत्र र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्छ। युवालाई विदेशिनबाट रोक्ने आग्रहभन्दा स्वदेशमै भविष्य देख्ने आधार तयार गर्नुपर्छ। जेन-जी आन्दोलनको वास्तविक सम्मान सार्वजनिक बिदामा होइन, युवाको जीवनमा देखिने सकारात्मक परिवर्तनमा हुनेछ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।