महेन्द्र रेग्मी । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ।

सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा सडक माथिबाट ठूलो पहिरो खसेपछि भदौ २१ गते साँझदेखि राजमार्ग अवरुद्ध भएको थियो।
प्रहरीका अनुसार भदौ २१ गते साँझ करिब ५ः०५ बजे सडक माथिबाट पहिरो खसेर करिब १५० मिटर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बड्डीचौरबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रबहादुर सिंहको कमाण्डमा ट्राफिक प्रहरीसहित चार जनाको टोली घटनास्थलमा खटिएको थियो।
पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिए पनि पहिरो खस्ने क्रम नरोकिएपछि तत्काल जेसीबी सञ्चालन गर्न जोखिम भएको थियो। जेसीबी घटनास्थलमै रहे पनि थप पहिरो खस्न सक्ने जोखिमका कारण तत्काल काम अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ। उक्त स्थान प्रहरी चौकी बड्डीचौरबाट करिब १७ किलोमिटर उत्तरमा पर्छ।
भदौ २२ गते बिहान ९ः०५ बजेदेखि सडक डिभिजन कार्यालयको जेसीबीमार्फत पहिरो पन्छाउने काम सुरु गरिएको थियो। सडक खुलाउने कार्यमा सहयोग र सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गण हेडक्वार्टर रक्तकाली सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल बोहोराको कमाण्डमा ११ जनाको टोलीसमेत घटनास्थलतर्फ खटिएको थियो।
सोही दिन दिउँसो १ बजे दैलेखबाट आएको लोडरले समेत पहिरो पन्छाउने काममा सहयोग गरेको थियो। ठूलो मात्रामा माटो, ढुंगा तथा अन्य सामग्री खसेका कारण सडक खुलाउन समय लागेको थियो। साँझ करिब ६ बजे हुस्सु लागेपछि सुरक्षाका कारण त्यस दिनका लागि पहिरो हटाउने काम रोकिएको थियो।
भदौ २३ गते बिहान ७ः३० बजेदेखि जेसीबीमार्फत पुनः पहिरो हटाउने काम सुरु गरिएको थियो। लगातारको प्रयासपछि दिउँसो २ः३५ बजे राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएको थियो।
त्यसपछि बाँकी अवरोध हटाउने काम जारी राखिएकोमा साँझ ४ बजे सडकमा रहेका अवरोध हटाई कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
रेग्मी मध्यपश्चिम विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन ।









