२०८३ भदौ २७ , शनिबार

हुम्लाको ताजाकोट गाउँपालिकामा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट



हुम्लाको ताजाकोट गाउँपालिकाको लेखा शाखामा आगलागी हुँदा महत्वपूर्ण कागजातसहित विभिन्न सामग्री जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ताजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको भवनमा रहेको लेखा शाखाको स्टोरमा सोमबार राति करिब १ बजे आगलागी भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ।

आगलागीबाट आर्थिक वर्ष २०७३/७४ देखि २०८१/८२ सम्मका सम्पूर्ण श्रेस्ता कागजात जलेर नष्ट भएका छन्। केही कागजात भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, आगलागीमा चारवटा काठका र्‍याक, एउटा सुत्ने खाट, एउटा टेबल र एउटा ब्याट्री–सोलारसमेत जलेर नष्ट भएका छन्।

आगलागीको सूचना पाएपछि प्रहरी चौकी छप्रेला ताजाकोटबाट प्रहरी वरिष्ठ हवल्दार/नायब निरीक्षक तीर्थ खत्रीको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ३ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी छप्रेला ताजाकोटबाट करिब ३० मिनेट पैदल पूर्वतर्फ पर्छ। आगलागीबाट भएको क्षतिको थप विवरण संकलन तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।