नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा सुर्खेतमा ‘सुर्खेत तीज नृत्य आइकन २०२६’ आयोजना हुने भएको छ। जेबी डान्स स्टुडियो एन्ड फिटनेस सेन्टर, वीरेन्द्रनगरले ‘संस्कृति जोगाऔँ, प्रतिभा चम्काऔँ’ भन्ने मूल नाराका साथ नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिता २० वर्षमुनिका महिला तथा छात्राहरूका लागि लक्षित गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणको अडिसन अर्थात् छनोट चरण सम्बन्धित विद्यालय तथा कलेज परिसरमै हुनेछ। त्यसबाट छनोट भएका प्रतियोगीबीच सेमिफाइनल अर्थात् दोस्रो चरण र त्यसपछि अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीय हुनेले २० हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेतालाई ट्रफी, पदक र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, उत्कृष्ट परम्परागत पोसाक र तीज सांस्कृतिक रानी विधामा समेत पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन प्रति व्यक्ति वा समूह ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ। दर्ता शुल्क बुझाइसकेपछि कुनै पनि अवस्थामा फिर्ता नहुने आयोजकले जनाएको छ। प्रतियोगीताले मौलिक तथा सांस्कृतिक पहिचान झल्कने पोसाक प्रयोग गर्नुपर्नेछ।
सामाजिक वा व्यक्तिगत रूपमा आपत्तिजनक शब्द भएका गीत प्रयोग गर्न नपाइने नियम राखिएको छ। नृत्य प्रस्तुतिको समय कम्तीमा ४० सेकेन्डदेखि बढीमा १ मिनेटसम्म हुनुपर्नेछ। प्रतियोगिताका लागि फाराम भर्ने तथा दर्ता गर्ने अन्तिम मिति २०८३ साउन २९ गते तोकिएको छ।
प्रतियोगिताको अन्तिम निर्णय निर्णायक मण्डलको निर्णयअनुसार हुने आयोजकले जनाएको छ। थप जानकारी तथा दर्ताका लागि जेबी डान्स स्टुडियो एन्ड फिटनेस सेन्टर, वीरेन्द्रनगर, सुर्खेतमा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर ९८६९४५९९९१ र ९७६३९१७२९८ रहेको छ।









