चलचित्र ‘बेहुली’ आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममार्फत निर्माण युनिटले चलचित्रको पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको हो।

‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरले गहिरो तथा विद्रोही प्रेमकथाको संकेत गरेको छ। पोस्टरमा अभिनेता पारस बम ठकुरी ‘कुलब्वाय’ गम्भीर भावमा देखिएका छन्। उनको अनुहारमा सामान्य चोटको संकेत छ भने नाडीमा हतकडी झुन्डिएको देखिन्छ।
रातो रङको विवाह पहिरन तथा गहनामा सजिएकी अभिनेत्री दिव्या रायमाझीले आँखा चिम्लिएर पारसको छातीमा टाउको अडेसाएकी छन्। पोस्टरले प्रेम, संघर्ष र सम्बन्धको भावनात्मक पक्षलाई प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ।
कार्यक्रममा पारस र दिव्या पोस्टरकै आवरणसँग मेल खाने पहिरनमा मिडियासामु प्रस्तुत भएका थिए। दिव्या बेहुलीको पहिरनमा देखिएकी थिइन् भने पारसको हातमा हतकडी थियो। मञ्चमै उनीहरूले एकअर्काप्रतिको प्रेमिल भाव प्रस्तुत गर्दा उपस्थित सञ्चारकर्मी तथा अतिथिहरूको ध्यान आकर्षित भएको थियो।
चलचित्रमा पारस र दिव्यासँगै सुशान्त कार्कीको पनि प्रमुख भूमिका रहेको छ। निर्माण पक्षले तिजको उल्लासमय माहोल र चलचित्रको मर्मस्पर्शी कथाबीचको संयोजनले दर्शकलाई फरक सिनेम्याटिक अनुभव दिने विश्वास लिएको छ।
सशान कँडेलको निर्देशन रहेको चलचित्रमा पारस, दिव्या र सुशान्तसँगै पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायतको अभिनय रहेको छ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन रहेको छ। चर्चित संगीतकार अर्जुन पोखरेलले निर्माण गरेको चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन्।
चलचित्रका कार्यकारी निर्मातामा शंकर कोइराला र रमेश सिलवाल, सहनिर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्। कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसरका रूपमा रहेका छन्।
चलचित्रको वितरण काठमाडौँ उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले गर्नेछन्।









