चर्चित हास्यकलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल निर्माण गरेका छन्। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ।

धुर्मुस–सुन्तली मिडियाले निर्माण गरेको सिरियल प्रत्येक शुक्रबार नेपाली समयअनुसार साँझ ८ः१५ बजे प्रसारण हुनेछ। अमेरिकामा भने शुक्रबार बिहान १०ः३० बजे प्रसारण हुने यो सिरियल धुर्मुस–सुन्तलीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। सिरियलको शीर्षक धुर्मुसको विगतमा चर्चित बनेको संवाद तथा थेगोबाट लिइएको हो।
सिरियलमा सीताराम र कुञ्जना आफ्नै चर्चित पात्र धुर्मुस र सुन्तलीको भूमिकामा देखिनेछन्। उनीहरूकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्यकलाकार मोहन मिश्र पनि मुख्य भूमिकामा छन्। ‘होस प्रसाद’, ‘मिस्टर फन्टुस’ लगायत लोकप्रिय हास्य कार्यक्रमका कलाकार तथा निर्देशकका रूपमा परिचित मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन्।
सिरियलमा दिनेश कार्की, शंकरराज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईं, चुडा धिमाल र धर्म भारतीलगायत कलाकारको अभिनय छ। यही सिरियलमार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई पनि बाल कलाकारका रूपमा अभिनयमा डेब्यु गराएका छन्।
राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बजगाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन रहेको छ।
निर्माण पक्षका अनुसार सिरियल केवल मनोरञ्जनमा सीमित रहने छैन। अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता, उपलब्धि, अवसर र चुनौतीसँगै त्यहाँको जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, नेपाली समुदायका गतिविधि र प्रवासी जीवनका विविध अनुभव तथा कथालाई हास्यव्यंग्यात्मक शैलीमा प्रस्तुत गरिनेछ।









