आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्रको तीन मिनेट २० सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरले एउटी युवतीको शिक्षा हासिल गर्ने संघर्ष, वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौती तथा परम्परागत सामाजिक सोचसँगको टकरावलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
चलचित्रमा मुख्य पात्र अरुण क्षेत्रीले स्वास्थ्य अवस्थाका कारण देखाउने अस्वाभाविक व्यवहार र त्यसको सामना गरिरहेकी सिम्रन खड्काको जीवनलाई देखाइएको छ। पढ्नका लागि सिम्रनले गरेको संघर्षमा आफ्नै घरपरिवार कसरी बाधक बन्छ भन्ने विषय पनि ट्रेलरमा समेटिएको छ।
ट्रेलरले महिलाले महिलालाई सहयोग नगर्दा पर्ने असर, पुरातनवादी सोच, पारिवारिक दबाब तथा सामाजिक मान्यताबीच आफ्नो सपना पूरा गर्न संघर्षरत युवतीको कथा प्रस्तुत गरेको छ। अटिजम भएका युवकसँग विवाह गरेपछि दुलहीले झेल्नुपरेका समस्या, पढाइप्रतिको उनको चाहना र विवाहपछिको जीवनमा आएका चुनौतीलाई मार्मिक ढंगले चित्रण गरिएको छ।
विवाह नगर्ने अडानमा रहेकी युवतीले आमाबुबाको आग्रह र परिवारको इज्जत जोगाउन गरेको सम्झौतापछि भोग्नुपरेको पीडालाई पनि ट्रेलरमा देखाइएको छ। ग्रामीण परिवेश, कथावस्तु र कलाकारको अभिनयले ट्रेलरलाई आकर्षक बनाएको निर्माण पक्षको दाबी छ।
चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका छन्। फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ।
बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथामा बनेको चलचित्रको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन्। चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माता रहेका छन्।
चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ। पार्श्व संगीत एलिस कार्कीले दिएका छन्। हरि हुमागाईंले छायांकन गरेको चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका छन्।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक छन्। मुकेश शाहले ध्वनि मिश्रण, राजेन्द्र मोक्तानले रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीले कोरियोग्राफी गरेका छन्।
यसअघि डा. भोला रिजालले दुई दशकअघि ‘गौँथली’ नामकै चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपालको पहिलो गीति चलचित्र अर्थात् म्युजिकल फिल्म मानिन्छ। सो चलचित्रले प्रदर्शनको ५१ औँ दिन मनाएको थियो।
अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन्। साउन १ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।









