२०८३ भदौ २६ , शुक्रबार

तिब्बत हुँदै आएको बाढीमा नेपाली सेनाका ४५ सुरक्षाकर्मी अझै बेपत्ता



गत भदौ १० गते चीनको तिब्बत हुँदै आएको विनाशकारी बाढीमा परी नेपाली सेनाका ४५ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेका छन्।

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १२ जना सुरक्षाकर्मी अझै बेपत्ता छन्।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा निरन्तर खटिरहेका छन्। तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी परिचालन भएका छन्।

प्रधानमन्त्री शाहले आफ्ना सहकर्मी गुमाएको पीडाका बीच पनि सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा अहोरात्र खटिरहेको बताएका छन्। बाढीले थुपारेको दलदल र भग्नावशेषमा बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनको कामसमेत सुरक्षाकर्मीले निरन्तर गरिरहेको उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।