मुसिकोट नगरपालिकास्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको भनिएको आर्थिक अनियमितता तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनालसहित आठ जनाले सफाइ पाएका छन्।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार अनुसन्धान तथा सुनुवाइपछि मुद्दाका सबै प्रतिवादीलाई भ्रष्टाचार कसुरबाट सफाइ दिने फैसला गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानाध्यापक खनाल र लेखापाल ठकबहादुर बुढाथोकीविरुद्ध १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा बिगो कायम गरी कैद तथा जरिवानाको मागसहित मुद्दा दायर गरेको थियो।
त्यस्तै, कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसी, तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, शाखा अधिकृत विनाराम खड्का, सूचना प्रविधि अधिकृत गोपाल ओली तथा दाङस्थित डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स वर्ल्डका प्रोप्राइटर शिवप्रसाद श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको थियो।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विद्यालयमा प्रविधिमैत्री कक्षाकोठा निर्माण तथा व्यवस्थापनका लागि सामग्री आपूर्ति नगरी ४ लाख ८८ हजार ८११ रुपैयाँ २४ पैसा भुक्तानी लिइएको थियो।
त्यस्तै, सूचना प्रविधिसम्बन्धी सामग्री खरिद गरेपछि सञ्चालनका लागि आवश्यक तालिम नदिई झुटो बिल तथा भरपाई तयार गरी थप २ लाख २० हजार रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको थियो।
यसैगरी, विद्यालयको आन्तरिक आम्दानी तथा विद्यार्थीबाट उठाइएको ५४ हजार ८८१ रुपैयाँ ५९ पैसा बैंकमा दाखिला नगरेको र बेरुजु फर्छ्यौटका नाममा बिना भौचर तथा उद्देश्य विद्यालयको खाताबाट ३ लाख १२ हजार ६१ रुपैयाँ १५ पैसा झिकेर व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको दाबीसमेत अख्तियारले गरेको थियो।









