
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित एक सरकारी कार्यालयका प्रमुख पक्राउ परेका छन्। पक्राउ पर्नेमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख तथा उपसचिव मिक्मार तामाङ रहेका छन्।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९ स्थायी घर भएका तामाङ गत साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जाने तयारीमा थिए।
विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा उनले बोकेको कालो झोलाभित्र लुकाइराखिएको अवस्थामा एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ नगद फेला परेको थियो।
बरामद रकमको वैधानिक स्रोतबारे सोधपुछ गर्दा तामाङले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरी सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएको थियो।
विमानस्थलमा खटिएका प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र तिम्सिनाले बरामद नगदसहित तामाङलाई थप अनुसन्धानका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएका थिए।
उच्च तहका सरकारी कर्मचारी पक्राउ परेको यो घटनालाई भने मोरङ प्रहरीले हालसम्म सार्वजनिक नगरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाको अनुसन्धान जारी रहेको पुष्टि गर्दै पक्राउ परेका व्यक्तिले नगदको वैधानिक स्रोत खुलाउन नसकेको बताए।
उनका अनुसार घटनासम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको छ र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी भइरहेको छ।
प्रहरीले बरामद रकमको वास्तविक स्रोत, प्रयोगको उद्देश्य तथा सम्भावित आर्थिक अपराधसँग सम्बन्धित पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।








