२०८३ भदौ २६ , शुक्रबार

कोशी सरकारमा प्रचण्डका ज्वाइँसहित नेकपाका ५ जनाको मन्त्री बन्दैं



कोशी प्रदेश सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का चार मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लागेको छ।

नेकपाबाट इलामकी खिनु लङ्वा लिम्बू, मोरङका जीवन आचार्य, गीता तिम्सिना र सोलुखुम्बुका गोम्बु शेर्पा मन्त्री बन्ने भएका छन्।

नेकपाबाट सरकारको नेतृत्व खिनु लङ्वा लिम्बूले गर्ने भएकी छन्। नेकपा कोशी इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र संयोजक हर्क नेम्वाङबीच भएको छलफलपछि मन्त्रीहरूको नाम टुंगो लगाइएको हो।

मन्त्रालय बाँडफाँटमा समेत नेकपा र नेकपा एमालेबीच सहमति जुटेको छ। सहमतिअनुसार नेकपाले भौतिक पूर्वाधार विकास, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय पाउने भएको छ। यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा समेत नेकपाले दाबी गरेको छ।

नेकपाको तयारीअनुसार पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी खिनु लङ्वा लिम्बूलाई, सामाजिक विकास मन्त्रालय गीता तिम्सिनालाई र भौतिक पूर्वाधार विकास मन्त्रालय जीवन आचार्यलाई दिने तयारी छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गोम्बु शेर्पालाई पठाउने नेकपाको योजना रहेको नेताहरूले बताएका छन्। तर उक्त मन्त्रालयबारे एमालेबाट औपचारिक सहमति आउन बाँकी रहेको बताइएको छ।

राज्यमन्त्री दर्जीलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषय भने अझै टुंगो लाग्न सकेको छैन।

मुख्यमन्त्री कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथका लागि आज दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा तयारी गरिएको छ।

सरकार विस्तारपछि कोशी प्रदेशमा एमालेको भागमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना, खानेपानी तथा सिँचाइ, स्वास्थ्य र कृषि मन्त्रालय रहनेछन्।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन ९ गते भएको तीनबुँदे सहमतिका आधारमा प्रदेश सरकार विस्तार हुन लागेको हो। दुई दलबीच सहमति भएपछि नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले साउन २५ गते राजीनामा दिएका थिए।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।