अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिमा बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०६८/६९ मा जिल्ला विकास समिति महोत्तरीबाट बाल संरक्षण भत्ताका लागि साविक भरतपुर गाउँ विकास समितिलाई ३ लाख ७ हजार २ सय रुपैयाँ निकासा गरिएको थियो।
तर उक्त रकम वास्तविक लाभग्राही बालबालिकालाई वितरण नगरी नक्कली भरपाई तयार गरी सरकारी रकम हिनामिना गरिएको अनुसन्धानबाट खुलेको हो।
अनुसन्धानका क्रममा भत्ता वितरण गरेको देखाउन भरपाईको सहीछाप महलमा प्रतिवादीहरूले आफैं तथा लाभग्राहीबाहेक अन्य व्यक्तिबाट औँठाछाप गराएको र त्यसकै आधारमा सरकारी रकम फर्छ्यौट गरिएको प्रयोगशाला परीक्षण प्रतिवेदनबाट समेत पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाउँ विकास समिति सचिव महेश्वर महतो कोइरी तथा तत्कालीन जिल्ला विकास समिति महोत्तरीको आन्तरिक लेखापरीक्षण शाखामा कार्यरत सुरुज साहले मिलेमतोमा झुट्टा कागजात तयार पारी लाभग्राहीलाई भत्ता वितरण नगरी वितरण गरेको देखिने नक्कली भरपाई बनाएका थिए। सोही माध्यमबाट उनीहरूले सरकारी रकम हिनामिना गरेको आरोप लगाइएको छ।
उक्त कार्यबाट नेपाल सरकारलाई ३ लाख ७ हजार २ सय रुपैयाँ बराबरको हानि पुर्याई प्रतिवादीहरूले गैरकानुनी लाभ लिएको आयोगको निष्कर्ष छ।
आयोगले प्रतिवादीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १७ बमोजिमको कसुर भएको ठहर गर्दै हिनामिना भएको रकम असुलउपर, सोही बराबरको जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागसहित बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।








