कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। यससम्बन्धमा शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीसँग भेटवार्ता गर्ने र त्यसपछि बस्ने बैठकले राजीनामा बुझाउने मिति तय गर्ने तयारी गरिएको छ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारका अनुसार कांग्रेसका मन्त्रीहरू आजै मुख्यमन्त्री कार्कीसँग भेट गर्ने तयारीमा छन्। त्यसपछि बस्ने बैठकले सामूहिक राजीनामा बुझाउने समय र प्रक्रिया तय गर्नेछ।
‘हामीले सामूहिक राजीनामा दिने तयारी गरेका छौँ। आजै मुख्यमन्त्रीलाई भेटेपछि बैठक बस्छौँ र राजीनामा बुझाउने दिन तय गर्छौँ,’ मन्त्री सुनुवारले बताए।
नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सत्ता गठबन्धन सम्बन्धी तीनबुँदे सहमति भएपछि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू सरकारबाट फिर्ता हुने निर्णयमा पुगेका हुन्।
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्। उनीहरूले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।









