२०८३ भदौ २६ , शुक्रबार
जलन उपचार केन्द्र

सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन



प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवासमेत थप सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।

उनले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने सुनिश्चित गर्न सङ्घ, प्रदेश तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्राडा विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले जलन उपचार कक्ष सञ्चालन गरिरहेका अस्पतालको सेवा अझ प्रभावकारी बनाउन र सातै प्रदेशमा जलनका बिरामीको उपचार हुने व्यवस्था मिलाउन निर्देशन दिएका थियो।

प्रधानमन्त्री शाहले अस्पताल सेवाको समग्र सुधारमा जोड दिँदै अस्पतालको सरसफाइ व्यवस्थित हुनुपर्ने, बिरामीले सहज रूपमा सेवा पाउनुपर्ने तथा अस्पतालमा हुने अनावश्यक भिड व्यवस्थापनका उपाय अवलम्बन गर्न पनि निर्देशन दिए ।

प्राडा आचार्यका अनुसार हाल गम्भीर जलनका बिरामी सीमित अस्पतालमा मात्रै उपचारका लागि केन्द्रित हुनुपर्ने अवस्था रहेकाले प्रत्येक प्रदेशमा कम्तीमा एउटा सुविधासम्पन्न जलन उपचार केन्द्र आवश्यक रहेको प्रधानमन्त्रीको धारणा थियो।

छलफलका क्रममा उपकुलपति आचार्यले वीर अस्पतालले भोगिरहेको आर्थिक तथा व्यवस्थापकीय समस्याबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। उहाँले अस्पतालको आर्थिक अवस्था कमजोर बन्दै गएको र त्यसले सेवा प्रवाहमा असर पार्न सक्ने अवस्था रहेको उल्लेख गरेका थिए ।
छलफलमा नाम्सका उपकुलपति प्राडा विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नविसमानसिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. स्मृति काफ्ले सहभागी थिए ।

प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार

1 प्रतिक्रिया

  • Bradley4531 July 14, 2026

    कहिलेदेखि लागु हुने हाेला

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।