नेपालमा आगामी असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

बंगालको खाडीको मध्य–पश्चिमी भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै ‘बलियो न्यूनचापीय क्षेत्र’का रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।
सोही प्रणालीको प्रभावले नेपालमा असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा तथा हिमपात हुन सक्ने भन्दै महाशाखाले सोमबार विशेष मौसम बुलेटिन जारी गरिसकेको छ।
महाशाखाले मंगलबार बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतः सफादेखि आंशिक बदली रहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी भेगमा साधारणतया बादल लाग्ने र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोसी, मधेस र बागमती प्रदेशलगायत देशका हिमाली भेग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा बाँकी तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोसी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
वर्षाको मात्रा कसरी निर्धारण गरिन्छ?
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भएमा त्यसलाई हल्का वर्षा भनिन्छ। १० देखि ५० मिलिमिटरभन्दा कम वर्षा भएमा मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरभन्दा कम वर्षा भएमा भारी वर्षा भनिन्छ। त्यस्तै, १०० देखि २०० मिलिमिटरभन्दा कम वर्षालाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ।
‘एक–दुई स्थान’ र ‘केही स्थान’ भन्नाले के बुझिन्छ?
मौसम पूर्वानुमानमा प्रयोग हुने ‘एक–दुई स्थान’ भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना जनाउँछ। १० देखि ३० प्रतिशत भूभागमा वर्षा हुने सम्भावनालाई ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतलाई ‘केही स्थान’, ५० देखि ८० प्रतिशतलाई ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावनालाई ‘अधिकांश स्थान’ भनिन्छ।








