अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरिएको बेल्केढुङ्गा–लेखनवाडा–वडा कार्यालय–दुर्सी–फागोटी ग्रामीण सडक निर्माण योजना अन्तर्गत ८ लाख ८ हजार ६८० रुपैयाँ ५७ पैसा हिनामिना भएको आरोपमा मुद्दा दायर गरिएको हो।
उक्त योजनाका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। कार्यसम्पन्न प्रतिवेदनमा ग्याविन जालीसहित १,२०० घनमिटर ढुंगा भरिएको उल्लेख गर्दै उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी गरिएको थियो। तर, अख्तियारको प्राविधिक टोलीले गरेको स्थलगत नापजाँचमा ९३९ दशमलव ५० घनमिटर मात्रै निर्माण भएको पुष्टि भएको आयोगले जनाएको छ।
प्रतिवेदनमा उल्लेख भएको भन्दा २६० दशमलव ५० घनमिटर कम काम भएको भेटिएपछि झुट्टा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन तथा बिल–भरपाई तयार गरी ८ लाख ८ हजार ६८० रुपैयाँ ५७ पैसा बढी भुक्तानी गरिएको निष्कर्ष अख्तियारले निकालेको छ।
यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, तत्कालीन लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, तत्कालीन सब–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह विरुद्ध बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको छ।
त्यस्तै, तत्कालीन उपाध्यक्ष दाना न्यौपाने र वडा नं. ९ का तत्कालीन अध्यक्ष टक्कबहादुर बम विरुद्ध गलत कार्यसम्पन्न प्रतिवेदन प्रमाणीकरण गरेको आरोपमा भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
यस्तै, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, सचिव कमलबहादुर बम र कोषाध्यक्ष सुलक्षिना बम विरुद्ध गैरकानुनी लाभ लिन सहयोग गरेको आरोपमा मुख्य कसुरदारसरह सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।








