सुर्खेतको चौकुने गाउँपालिका–१ तालागाउँस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्।

मंगलबार दिउँसो करिब ३ बजे बाजुराको त्रिवेणी नगरपालिका–३ निवासी २५ वर्षीय रामबहादुर भण्डारी कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनी तालागाउँ निवासी प्रेमबहादुर साउदको लु ३ च ७६५२ नम्बरको बोलेरो गाडीका चालकका रूपमा कार्यरत थिए।
कामको सिलसिलामा तालागाउँ पुगेका भण्डारी साथीहरूसँग नदीमा पौडी खेल्न गएका बेला डुबेर बेपत्ता भएका हुन्।
घटनाबारे साँझ करिब ५ः३० बजे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट लगामबाट प्रहरी सहायक निरीक्षक ज्योतिष सिंहको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी पोस्टबाट करिब ३० किलोमिटर उत्तरतर्फ पर्छ।
भण्डारीसँगै पौडी खेल्न गएका चौकुने गाउँपालिका–१ निवासी १४ वर्षीय सुशील साउद, २४ वर्षीय मिनबहादुर साउद र १८ वर्षीय खेमबहादुर साउदले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए।
प्रहरीले बेपत्ता भण्डारीको खोजी कार्य जारी रहेको जनाएको छ।









