अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित सात जनाविरुद्ध बागमती फन पार्क एन्ड रिसोर्ट निर्माण आयोजनामा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आयोजनामा अनियमितता गरी राज्यलाई ठूलो आर्थिक क्षति पुर्याएको निष्कर्षपछि तत्कालीन अर्थमन्त्री साह, तत्कालीन सचिव गेजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन मेयर भरतकुमार थापा, उपमेयर लीला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्ववराज न्यौपाने तथा निर्माण कम्पनी बिकोई/धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
अख्तियारले तत्कालीन अर्थमन्त्री साह र तत्कालीन सचिव ठाकुरसँग ३५ करोड रुपैयाँ बिगो माग गरेको छ। त्यसैगरी बागमती नगरपालिकाका तत्कालीन मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसँग ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ बिगो दाबी गरिएको छ।
यस्तै, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव न्यौपानेसँग २० करोड रुपैयाँ बिगो माग गरिएको छ भने निर्माण कम्पनी बिकोई/धुलिखेल जेभी प्रालिसँग पनि ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ बिगो दाबी गरिएको आयोगले जनाएको छ।
आयोगले उक्त आयोजनामा सार्वजनिक स्रोतको दुरुपयोग र कानुनविपरीत आर्थिक अनियमितता भएको ठहर गर्दै दोषीमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ।








