रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट आज बिहान जीवितै उद्धार गरिएका कविर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको छ।

उद्धारलगत्तै उनलाई हेलिकप्टरमार्फत काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको थियो। उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
यस्तै, सुरुमै उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको जनाइएको छ। थप स्वास्थ्य परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइएको छ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा प्राविधिक विज्ञहरूको संयुक्त टोलीले आज बिहान सुरुङबाट उनीहरूको जीवितै उद्धार गरेको हो।
बाढी आएलगत्तै आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंकामा उद्धार टोलीले निरन्तर खोजी तथा उद्धार प्रयास गर्दै आएको थियो। सुरुङभित्र अझै अन्य व्यक्तिहरू हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।









