२०८३ भदौ २७ , शनिबार

कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा



गौरा पर्वका अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज (बिहीबार) सार्वजनिक बिदा दिएका छन्।

जिल्लाका भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा र पुनर्वास नगरपालिका तथा लालझाँडी, बेलडाँडी र अन्य सम्बन्धित स्थानीय तहले गौरा पर्वका अवसरमा स्थानीय बिदा दिएका हुन्।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ मनाइने गौरा पर्वका अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी दिए।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि नगरपालिकाभित्रका सरकारी कार्यालय तथा अन्य सम्बन्धित संस्थामा बिहीबार सार्वजनिक बिदा दिइएको बताए।

यसैबीच, मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) का अवसरमा दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

दुवै गाउँपालिकाले भदौ २२ र २३ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार गाउँपालिकाअन्तर्गतका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था तथा शिक्षण संस्थामा बिदा दिइनेछ।

कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पनि न्वागी पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए।

चेपाङ समुदायले भदौ २२ गते राति वनस्पति तथा नयाँ खाद्यान्न बाली घरमा भित्र्याएर पूजा गर्ने, एकपाखे ढ्याङ्ग्रो बजाउने तथा भदौ २३ गते बिहान पितृ पूजा गरी प्रसाद ग्रहण गरेर आफन्तसँग न्वागी मनाउने परम्परा रहेको छ।

नयाँ बाली भित्र्याएपछि सर्वप्रथम पितृलाई चढाएर मात्र आफूले ग्रहण गर्ने चेपाङ समुदायको परम्परा छ। न्वागी पर्वमा नयाँ उब्जनी पितृलाई चढाउनुका साथै भूमि र प्रकृतिको समेत पूजा गर्ने गरिन्छ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।