लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन्।

नेकपा एमाले र नेकपाबीच भएको सहमतिपछि कांग्रेसले सरकारमाथिको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने तयारी गरेको हो।
लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार सहभागी छन्।
सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले कांग्रेसका मन्त्रीहरूले आजै राजीनामा दिने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने तयारी भएको जानकारी दिए।
‘आज नै मार्ग प्रशस्त गर्छौँ, समर्थन पनि फिर्ता हुन्छ। हामी प्रतिपक्षमा बस्ने हो,’ मन्त्री राणाले भने।
एमाले र नेकपाबीच भएको सहमतिपछि लुम्बिनी प्रदेशमा समेत सत्ता समीकरण परिवर्तन हुने देखिएको छ। कांग्रेस सरकारबाट बाहिरिएसँगै प्रदेश सरकारको नयाँ समीकरण बन्ने प्रक्रिया अघि बढ्नेछ।









