सुर्खेतमा सिर्जु शाहद्वारा लिखित महिलाकेन्द्रित उपन्यास ‘बैकिनी’को गृह विमोचन गरिएको छ।

मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार, समालोचक तथा सरोकारवालाहरूको उपस्थितिमा उपन्यास सार्वजनिक गरिएको हो।
कार्यक्रमको अध्यक्षता गौरव न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य दीपक उपाध्याय ‘अभिलाषी’ले राखेका थिए। कार्यक्रममा लेखक तथा साहित्यकार डा. नवराज केसी र प्रेमप्रकाश मल्लले उपन्यासमाथि समीक्षा प्रस्तुत गरेका थिए।
त्यसैगरी स्रष्टा रवीन्द्र मिश्र, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले लेखकलाई शुभकामना दिएका थिए।
अक्षर आँगन प्रकाशन गृहद्वारा प्रकाशित ‘बैकिनी’ महिलाकेन्द्रित उपन्यास हो। कार्यक्रममा वक्ताहरूले उपन्यासले महिलाका संघर्ष, पीडा र सामाजिक यथार्थलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरेको बताएका थिए।
समीक्षकहरूले राज्यको नीति निर्माण तहमा रहेका व्यक्तिहरूले समेत उपन्यास अध्ययन गर्नुपर्ने सुझाव दिएका थिए।
लेखक शाहले आफ्नो जीवनमा भेटिएका महिलाहरूको वास्तविक अवस्था र उनीहरूले भोगेका संघर्षबाट प्रेरित भएर उपन्यास लेख्ने सोच बनाएको बताइन्।
उपन्यासमार्फत महिलाले अझै पनि समाजमा विभिन्न प्रकारका चुनौती र संघर्ष सामना गर्नुपरेको यथार्थ उजागर गर्ने प्रयास गरिएको उनको भनाइ थियो।
‘बैकिनी’ कर्णाली क्षेत्रको आञ्चलिक शब्द हो, जसको अर्थ ‘तरुनी’ भन्ने हुन्छ। उपन्यास विभिन्न सामाजिक तथा व्यक्तिगत संघर्षमा होमिएका महिला पात्रहरूको जीवनकथामा केन्द्रित रहेको जनाइएको छ।








