मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि १० उत्कृष्ट कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ।

सोमबार जारी प्रेस विज्ञप्तिअनुसार गुठीमा प्राप्त २९८ पुस्तकमध्ये मूल्याङ्कनपछि १० कृति श्रेष्ठ सूचीमा छनोट भएका हुन्। यीमध्ये एक कृतिलाई मदन पुरस्कार-२०८२ प्रदान गरिनेछ।
अकारादि क्रममा सार्वजनिक गरिएको श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ रहेका छन्।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकमध्ये बढीमा १० कृति छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास रहँदै आएको उल्लेख छ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीको बाहुल्य रहेका पुस्तकलाई छनोटको एउटा आधार मानिँदै आएको छ।
वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपटक २०१३ सालमा गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रतर्फ चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधातर्फ बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो।
त्यसयता नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गरिँदै आएको छ। वि.सं. २०७५ देखि मदन पुरस्कारको राशि चार लाख रुपैयाँ रहेको छ।









